नवनियुक्त २० सदस्यीय मन्त्रीहरूले लिए शपथ, यस्तो बन्यो मन्त्रिपरिषद्

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४  वटा र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय पाएका छन् ।

योसँगै २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले हिजै शपथ लिएका थिए, आज १६ जना थपिएका हुन् ।

नेकपा एमालेबाट रघुवीर महासेठ- उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई- खानेपानीमन्त्री, पदम गिरी- कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी- भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी- महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती- रक्षामन्त्री र ज्वालाकुमारी साह- कृषिमन्त्री बनेकी छन् ।

नारायणकाजी श्रेष्ठ गृहबाट परराष्ट्र पुग्नुभएको हो भने शक्ति बस्नेत र रेखा शर्मा पहिलेकै मन्त्रालयमा यथावत् रहेका छन् ।

पदम गिरी र बलराम अधिकारीबाहेकका मन्त्री गएको वर्षको पुसमा पनि सरकारमा सहभागी थिए । नेकपा एमालेले गृह वा अर्थ मन्त्रालय मागेको थियो । गृह वा अर्थ मन्त्रालय पाएको भए एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारको नेतृत्व दिने बताएको थियो । तर रोजेको मन्त्रालय नपाएपछि रघुवीर महासेठलाई सरकारमा एमालेको नेतृत्व गर्ने अवसर मिलेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने- उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा- सहरी विकासमन्त्री बनेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन- अर्थमन्त्री, शक्तिबहादुर बस्नेत- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...