भारतले रेल यातायातलाई वातावरणमैत्री बनाउने अभियानअन्तर्गत आफ्नो पहिलो हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ। यससँगै भारत हाइड्रोजन प्रविधिमा आधारित रेल परीक्षण वा सञ्चालन गर्ने सीमित देशहरूको सूचीमा समावेश भएको छ।
१० डिब्बा रहेको यो रेल उत्तरी भारतको हरियाणा राज्यस्थित जिन्द–सोनीपतबीचको ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ। रेल १,२०० किलोवाट क्षमताको हाइड्रोजन फ्युल–सेल प्रणालीबाट सञ्चालित हुने भारतीय अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार यो क्षमताको प्रणाली विश्वकै सबैभन्दा शक्तिशाली हाइड्रोजन रेल प्रणालीमध्ये एक हो।
हाइड्रोजन रेलले हाइड्रोजन र अक्सिजनको रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गर्छ। यस प्रक्रियामा कार्बन उत्सर्जन हुँदैन र केवल पानी तथा बाफ मात्र निस्कने भएकाले यसलाई वातावरणमैत्री प्रविधिका रूपमा हेरिन्छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको उद्घाटन गर्दै यसलाई आत्मनिर्भर भारत र दिगो विकासतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। रेल मन्त्रालयका अनुसार यो परियोजना भारतमै विकास गरिएको हो, यद्यपि फ्युल–सेलजस्ता केही प्रमुख उपकरण विदेशबाट आयात गरिएको अधिकारीहरूले स्वीकार गरेका छन्।
यससँगै जिन्दमा करिब ३,००० किलोग्राम क्षमता भएको देशकै सबैभन्दा ठूलो रेल हाइड्रोजन भण्डारण तथा रिफ्युलिङ केन्द्र पनि सञ्चालनमा ल्याइएको छ, जसले हाइड्रोजन रेल सेवालाई आवश्यक इन्धन आपूर्ति गर्नेछ।
करिब १ करोड २० लाख अमेरिकी डलर लागतमा तयार गरिएको यो पाइलट परियोजना परम्परागत रेल सेवाभन्दा महँगो भए पनि प्रविधिको विकाससँगै आगामी दिनमा लागत घट्दै जाने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन्।
भारतअघि जर्मनी, जापान, चीन र संयुक्त राज्य अमेरिकाले पनि हाइड्रोजनबाट चल्ने रेलको परीक्षण वा सञ्चालन गरिसकेका छन्।
भारतले पछिल्ला वर्षहरूमा रेल पूर्वाधार आधुनिकीकरण, सुरक्षा सुधार र क्षमता विस्तारमा ठूलो लगानी गर्दै आएको छ। देशले स्वदेशमै विकसित वन्दे भारत रेल सञ्चालनमा ल्याइसकेको छ भने जापानी शिन्कान्सेन प्रविधिमा आधारित पहिलो बुलेट रेल परियोजना पनि निर्माणाधीन छ। पहिलो खण्ड सन् २०२७ सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।


