जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेको एक मिनी बस दुर्घटनामा परेको छ। शनिबार कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको मिनी बस कालीकोटको तिलागुफा नगरपालिका-५ खल्लाघाट भन्ने स्थानमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेकाे छ। बसमा १८ जना यात्रु सवार थिए। जसमध्य तीन जनाकाे अवस्था सामान्य रहेकाे बुझिएकाे छ।घाइतेहुनेहरुमा सुर्खेत जाँदै गरेका सिंजा-३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, कनकासुन्दरी-६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए।
उनीहरुको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। गाडीको ब्रेक नलागेर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते छन्।


