उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उच्च अदालत दिपायका तत्कालिन रजिस्ट्रार रणबहादुर कटवालले आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको, स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको र विभिन्न शीर्षकका बजेट नक्कली बिल भरपाई गरी चार लाख ९८ हजार ९ सय ९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित कटवाललाई अख्तियारले गत भदौमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई चार लाख ९८ हजार ९ सय ९५ बिगो कायम गर्दै कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न मागदाबी गरिएको थियो।
उनै कटवाललाई आइतबार विशेष अदालतले रकम हिनामिना गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई ९ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ। कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यसबापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए।


