कविता : गणतन्त्र आएको छ ?
लक्ष्मण भट्ट , गोरखा
१.तिमी घर आऊ,
अब केही चाहिन्न
बस, शान्ति भए पुग्छ,
आऊ बा! घर आऊ! गणतन्त्र आएको छ?
२.सानी र कान्छीको जीउ ढाक्न,
एक सरो लुगा नभए पनि
त्यहीँ पुरानो सारी बेरौँला
बेलुकी छाक टार्न फर्सी काटौँला
आऊ बा ! घर आऊ ! गणतन्त्र आएको छ!
३.सिहंदरबार गाउँमा छ
छोट्टे राजा महाराजा छन्
बिन्तिपत्र चढाऊ
भक्ति र शक्ति भए पुग्छ
आऊ बा! घर आऊ! गणतन्त्र आएको छ ?
४.म प्रजातान्त्रिक हुँ!
म गणतान्त्रिक हुँ!
मात्र भन्नु सिक्नु पर्छ
लाखौं बजेट आउँछ
आऊ बा! घर आऊ! गणतन्त्र आएको छ!
५.कुलो बनाऊ, पोखरी बनाऊ
आली बनाऊ बारी बनाऊ
पाटीको झन्डा मात्र बाँध्नु पर्छ
कोही बोल्दैन ,लाखौं कुमल्याऊ
आऊ बा! घर आऊ!
६. झन्डा बोक्नु नै पर्छ
गाउँमा बाँच्नु छ भने
बुबाले सेतो र छोराले रातो
बोकेकै देख्छु आजभोलि
कपडा उहीँ हो चिनो मात्रै फरक छ।
आऊ बा! घर आऊ! गणतन्त्र आएको छ।


