दोलखाको भीमेश्वर मन्दिरको शिलामा आज पसिना आएको छ। शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका थिए। उनीहरूले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए।
त्यसरी आएको पसिना पुछिएको कपास महाप्रसादको रुपमा ग्रहण गरिन्छ। शिलाको ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड मन्दिरमा लागेको थियो। शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ।
परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। उनका अनुसार आज दिउँसो १ बजेर ४७ मिनेटबाट पसिना आउन सुरु भएर ३ बजेर ५१ मिनेटमा रोकिएको थियो।
आज शिलाको बायाँभागमा पसिना आएको थियो। बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको सिडिओ पोखरेलले बताए।
शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलनसमेत रहेको छ। क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन छ।
पछिल्लो पटक २०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने आज आएको पसिना २१औँ पटकको हो। शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ।


