अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीले चर्चको अनुगमन गरेका हुन्।
कैलालीको धनगढीमा छालाको अस्पताल खोल्ने भन्दै निर्माण गरिएको भवनमा चर्च स्थापना गरिएको भन्दै स्थानीयको विरोधपछि अनुगमन गरिएको हो। स्थानीयले इसाई मिसनरीले झुक्याएर समुदायमा चर्च खडा गरेको भन्दै विरोध गरेपछि अस्पतालका नाममा चर्च खुलेको विषय बाहिर आएको हो।
लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनले भवनमा धनगढी मण्डली नामक चर्च चलाएका हुन्। खुलेआम विभिन्न प्रलोभन देखाएर आस्था परिवर्तन गर्ने काम गरेको देखिए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताएका छन्।प्रमुख जिल्ला अधिकारीले छानविन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्ननिर्देशन दिएका छन्।
स्थानीयको गुनासो आएपछि मङ्गलवार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका छन्। जिल्ला प्रहरी प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेतले चर्च भवनको अनुगमन गरेका हुन्।
धनगढी-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले धनगढी-५ हसनपुरका प्रभाकर भण्डारीको साढे चार कट्ठा जग्गा भाडामा लिएर ६ हजार ८६१ वर्ग फिट क्षेत्रफल भएको दुई तले भवन निर्माण गरेको हो। व्यावसायिक प्रयोजन देखाएर भवन निर्माण गरी धर्म परिवर्तन गर्न चर्च चलाउने काम भएको भन्दै स्थानीयले चर्च बन्द हुनुपर्ने माग गर्दै आएका छन्।


