रामबहादुर देउबा–डोटी , धार्मी ग्रन्थ तथा पुराणको अध्ययन तथा बुढापाकाको कुरा सुन्दा यो सुष्टि जगाउनमा बाबाघटालको महिमा बारेमा जति लेखे पनि अधुरो नै रहन्छ। द्वापरयुगमा यदी धटाल बाबाले कर्णको अमोघ अस्त्र आफु माथि प्रहार गर्ने वातावरण यदी निर्माण नगरेको भए दायद दानबहरुको नै यो सृष्टि हुन्थ्यो होला तर कर्णको शक्तिशालि अस्त्र जुन अर्जुनका लागि तयार राखेको र जस बाट अर्जनको मृत्यु पायःनिश्चित भएको थाहापाइ सके पछि उक्त अस्त्र आफु माथि प्रहार गर्न लगाई आफु मरेर गए पनि पाण्डबका जेठो दाइ अर्जुनलाइ बचाउन सफल भए ।
जसको परिणाम स्वरुप दानवको पतन र देवताहरुको विजय भइ सिङ्गो मानब जातिको कल्याण भएको हो । डडेलधुरा सदरमुकाम देखि ६ किलोमिटर दुरी महामारत जंगलको फेदमा सतमूला नदीको मध्य भागमा अवस्थित घटाल थान मन्दिर सवैका लागि सधैं खुला हुन्छ। सर्वभोगी घटालका नामले चिनिने घटाल बाबाको आराधना र पूजा गर्न अन्य मठ मन्दिर जस्तो कुनै निश्चित समय तोकिएको हुंदैन।
युद्धको नियम विपरित कौरबहरुले रातीमा पाण्डव सेनामाथि आक्रमण गरेपछि भगवान श्रीकृष्णको आदेशमा महाबली भीमले आफ्ना पुत्रको आब्ह्रान गर्छन। जन्मसंगै महाबिर भएका घटोत्कचको नामाकरण गर्दा पुत्रले पिता भीमसंग भनेका हुन्छन्, ‘जतिबेला पनि तीन पटक मेरो आब्ह्रान गरेपछि म उपस्थिति हुनेछु।’
त्यसै बचन अनुसार भीमले आफ्ना राक्षस पुत्र घटालको आब्ह्रान गर्छन र कौरब सेनासंग युद्ध गर्ने आदेश दिन्छन। रात्रीको समयमा दानबीय शक्ति सयौं गुणा बृद्धि हुने भएकाले घटाल बाबाले एक अक्षौहणी कौरव सेना मात्र समाप्त गरेनन् महारथी कर्णलाई अर्जुन वधका लागि सुरक्षित राखेको अमोघ अस्त्र प्रयोग गर्न पनि वाध्य पारे। यदि कर्णले अमोघ अस्त्र घटाल माथि प्रयोग नगरेको भए त्यसै राति महाभारत युद्ध समाप्त हुने थियो।
घटालले एकै राति समग्र कौरव सेना मात्र होइनन्, बाँकी रहेका सवै बीर र महारथीलाई समाप्त पार्ने क्षमता राख्थे।‘मित्र कर्ण अमोघ अस्त्र प्रयोग गर्नुहोस,’ धृतराष्ट पुत्र दुर्योधन घटोत्कचको वन्धनवाट आदेश दिन्छन।
तर, कर्ण भन्छन्, ‘अर्जुन वधका लागि सुरक्षित राखेको अमोघ अस्त्र प्रयोग गरेपछि महाभारत युद्ध जित्न सकिदैन।’ अमोघ अस्त्र प्रयोग नहुने हो भने आजै राति सवैको मृत्यु हुन्छ अनि अर्जुनसंग युद्ध गर्ने अवसरनै मिल्दैन।
दुर्योधनको धेरै अनुग्रह र आग्रहपछि कर्णले अमोघ अस्त्र छोड्छन र दानव सम्राट घटोत्कचको निधन हुन्छ। दानबीर कर्णले इन्द्रबाट प्राप्त गरेको अमोघ अस्त्र अर्जुन वधका लागि सुरक्षित राखेका थिए। अमोघ अस्त्र यस्तो अस्त्र थियो, जो एक पटक प्रयोग हुन्थ्यो। तर जसको नाममा प्रयोग गर्यो उसको मृत्यु निश्चित थियो।
जन्मसंगै छातीमा रहेको दिब्य कवच ब्राम्हण भेषमा गएका इन्द्रले दानमा प्राप्त गरेपछि दैबीय शक्ति बिहीन भएका महारथी कर्णलाई उनले अमोघ अस्त्र प्रदान गरेका थिए। आफूसंग भएका सारा शक्ति युद्धमा प्रयोग गर्न सक्थे महारथी कर्णले।
तर, अमोघ अस्त्र उनले अर्जुन वधका लागि सुरक्षित राखेका थिए। महाभारत युद्ध सुरु हुँदा कौरब सेनापति देवव्रत भिष्म पितामहले आफु सेनापति हुँदासम्म युद्ध भूमिमा कर्णको प्रवेश निषेध गरेका थिए। भिष्म पितामह पराजित भएपछि आचार्य द्रोण सेनापति भए।
उनले पनि कर्णको प्रवेश निषेध गरे।आचार्य द्रोणको निधन पछि मात्र युद्धमा सहभागी हुने अवसर पाएका महारथी कर्णसंग रहेको अमोघ अस्त्र घटोत्कच अर्थात घटाल वावाले आफु माथि प्रहार गर्न वाध्य वनाएर महाभारत युद्धको समग्र स्वरुपनै परिवर्तन मात्र गरेनन् द्वापर युगमा भएको महायुद्धका महानायक पनि भए।
‘धर्मका पक्षमा दानव सम्राटले दिएको बलिदानीले महाभारतको लक्ष्य पुरा भएको हो,’ भगवान श्रीकृष्णले भनेका छन्,‘ युगौं युगसम्म घटोत्कचको पूजा हुने छ र उनले देवत्व प्राप्त गर्नेछन।’ सम्भवत त्यसो नभएको भए अर्जुन माथि कर्णले अमोध अस्त्र प्रयोग गर्थे अर्जुनको निधन हुन्थ्यो र उनको निधन संगै अरु चार भाई पाण्डवले पनि मृत्युवरण गर्ने प्रतिज्ञा गरेका थिए।
महाभारत युद्धमा अधर्मको बिजय हुन्थ्यो।को हुन घटोत्कच?कौरवहरुले षडयन्त्रपूर्वक माता कुन्तीसहित पाच भाई पाण्डवहरुलाई लाक्षा गृहमा जलाएर मार्न खोज्दा त्यसवाट बाँचेर केही बर्ष भूमिगत जीवन जिउन वाध्य भएका पाण्डव मध्ये भिमसेन र राक्षस राजकुमारी हिडम्वावाट जन्मेका महाबीर हुन् घटोत्कच।लुक्दैछिप्दै जंगल जंगलमा बास वस्ने गरेका पाण्डवसंग जंगलमा हिडम्वा राक्षसीसंग भेट हुन्छ। उनी भिमसेन संग मोहित हुन्छिन।
माता कुन्तीसंग अनुनय बिनय गरेर हिडम्वाले भिमसेन संग विवाह गर्ने अनुमति माग्छिन र एक बर्ष संगै वसेर पुत्र प्राप्त गरेपछि भिमसेन पुनः फर्किएको महाभारतमा उल्लेख गरिएको छ।पुत्र प्राप्त भएपछि उनको नामाकरण गरेर पाण्डवहरुका माइला भाई भिमसेन आफ्नी माता र भाइहरुसंग फर्किन्छन भने घटोत्कच आफ्नो राज्यको राजा हुन्छन।
यो छोटो अवधिको राक्षस राजकुमारीसंगको प्रेम र विवाहपछि जन्मिएका हुन्, घटोत्कच।घटोत्कचका बिषयमा महाभारत लगायतका अन्य पौराणिक ग्रन्थमा धेरै उल्लेख नभएपनि धर्मयुद्ध महाभारतमा धर्मको जित हुनुमा एउटा प्रमुख पात्र हुन् घटालबाबा। सायद उनी नभएको भए पाण्डवहरुले महाभारत जित्न सक्ने कुनै सम्भावनानै थिएन। उनै महाविर महाभारतका महानायक राक्षस सम्राट घटोत्कच नै कलियुगमा आएर घटालवावाका नाममा पूज्यनीय भएका हुन्।
२०१४ सालमा राजा महेन्द्रको डडेलधुरा सवारी हुँदा उनी घटाल थानमा दर्शन गर्न गएको घटना पनि रोचक छ। दर्शन गरेर फर्कदा राजा महेन्द्र मन्दिर नजिकैवाट घोडा चढेका कारण घटाल रिसाएर सदरमुकाम पुग्नै नसकेको प्रत्यक्षदर्शीहरु वताउँछन। घटाल थान भन्दा केही माथि उक्लेपछि एक्कासी आएको आँधीबेहरीले राजाको सवारी रोकिएको थियो।
राजाले पछि तत्कालीन घटालका धामी कमाएर क्षमा मागेपछि मात्र आँधीबेहरी रोकिएर राजाको सवारी फर्किएको थियो। त्यतिवेला बाट राजाले दैनिक रु १ का दरले पूजा खर्च सरकारले दिन थालेको हो।
घटालका पाँचौं पुस्ताका धामी तिलकसिंह बिष्टले भने, ‘जिल्ला मालपोत कार्यालयमार्फत आउने पूजा रकम अहिले बढेर २४ सय भएको छ।’तत्कालीन धामीले राजा सामु कामेर वालुवा खान थालेपछि राजाले धामीलाई ‘जादुगर रहेछन’ भनेका थिए। तर, धामीले कामेर भनेछन ‘म जादुगर हुँ–होइन भन्ने तिमी दरवार फर्केपछि थाहा पाउने छौ।
तिमी दरवार पुग्दा कोठामा पाकेको काफलको हाँगो पाउने छौं।’ नभन्दै राजा महेन्द्र दरबार पुग्दा कोठामा पाकेको काफलको हाँगा भेटिएपछि उनी घटाल बाबा प्रति नतमस्तक भएका थिए।
घटोत्कचनै घटालवावामहाभारत युद्धका महानायक घटोत्कचनै घटालवावा हुन। डडेलधुरा जिल्लाको डोटी घटालमा स्थापना भएको घटाल बाबा मन्दिर झण्डै ८ सय बर्ष पहिले स्थापना भएको लोककाब्यहरुमा उल्लेख गरिएको छ। घटालबाबाको प्राचिन मन्दिर भारतको कुमाउँको कत्युरमा रहेको छ।
कुमाउँवाटै डोटी राज्यकी महाकारनी मौलाले घटालबाबालाई संगै ल्याएर आएको लोककाब्यमा उल्लेख गरिएको छ। बिवाहपछि राजारानी मौलासंग खटपट भएर ल्याउन नआएपछि उनले घटालबाबाको प्रार्थना गरेर भाकल गरी राजाले आफुलाई लैजान आएपछि संगै लगेर पूज्ने वाचा गरेकी थिइन।
त्यही वाचा अनुरुप घटालबाबाको कृपाले केही दिनमै राजारानी मौलालाई लिन कुमाउँ पुगेको र रानी मौलाले आफुसंगै घटाल बाबाको प्रतिमा ल्याएर फर्केको लोककाब्यमा उल्लेख छ। इतिहासकार भोजराज भट्टराईले पनि यसको उल्लेख गरेका छन्। तर, डोटी राज्यका प्रथम राजा शुभानुदेव पछि कति पुस्ताका राजा हुन भन्ने उल्लेख भने पाइदैन।
तर ८ सय देखि ११ सय बर्ष बीचको समयमा रानी मौलाले घटाल बाबाको मन्दिर स्थापना गरेको बिभिन्न लोककाब्यका आधारमा मान्न सकिन्छ।‘कित शीर मिलाउँला कित तीर मिलाउँला’ शीर अर्थात केदारनाथका प्रतिक भागेश्वर तिर अर्थात भगवान परशुरामले अवतार लिएको परशुराम धाम घटाल बाबाको आधुनिक इतिहास दुवै देवस्थलसंग जोडिएको छ।
मान्यता अनुरुप घटाल बाबासंगै रहेको असिग्राम शिव स्वरुप मन्दिरमा पुजा दर्शन गरेपछि मात्र घटाल बाबाको पूजा हुन्छ। त्यसै गरि परशुराम धाममा हरेक बर्ष हुने जात्रामा घटालको चलो लैजाने चलन पनि प्राचिन समय देखि चल्दै आएको देखिन्छ।
भगवान रामले अवतार लिनु अघि परशुराम धाममा परशुराम अवतार भएको हो। तर घटाल बाबाले द्वापरमा देवत्व प्राप्त गरेका कारण डोटी घटाल क्षेत्रमा घटाल बाबाको आगमन रानी मौलावाट भएको सत्यको नजिक देखिन्छ।द्वापर युगमा पाण्डबहरुले लाक्षागृहवाट बाँचेर केही बर्ष बिताएको जंगल महाभारत जंगल क्षेत्र नै हो। कुमाउँ र सुदूर पहाडसंग जोडिएको यही महाभारत क्षेत्रमा उनीहरुले समय बिताएको उल्लेख भए अनुसार तत्कालीन समयमा राक्षस राजा घटोत्कचको राज्य पनि यही आसपासको क्षेत्र भएको हुनुपर्ने बिद्वानहरुको मत रहेको छ।
जमदग्नी ऋषिको आश्रम रहेको परशुराम धाम, गर्ग ऋषिको आश्रम रहेको रुपालको गैरवगड क्षेत्र, द्वापर युगका अन्तिम राजा परिक्षितले महायज्ञ गरेको बगरकोट र भागेश्वरको सीमा क्षेत्र परिक्षीत फाँटा अर्थात पर्छेटा, महाभारतकालीन फल पर्वत हाल कैलालीको सिमानामा रहेको फलटुडे, जरासन्धको डोटीको जोरायल जस्ता पुराणमा उल्लेखित धार्मिक क्षेत्रहरुसंग जोडिएका कारण पनि घटाल बाबाको प्राचिन क्षेत्र नै हालको डोटी घटाल पनि हो भन्ने तर्क पनि सत्यको नजिक रहेको छ।
आस्थाका केन्द्र घटाल बाबाइतिहास र पौराणिक कथा जे जस्ता भएपनि घटाल बाबा सवैका आस्थाका केन्द्र हुन्। डडेलधुरा मात्र होइन हालको सुदूर डोटी प्रदेश र भारतको उत्तराखण्डका अधिकांश क्षेत्रमा घटाल बाबाको पूजा अर्चना हुन्छ।
नयाँ बर्षको दोस्रो दिन बैशाख दुई गते र दशैंमा हुने घटाल जात्रा यस क्षेत्रका प्रख्यात जात्रा मध्ये एक हो। जात्रा मात्र होइन् यस क्षेत्रका हरेक जातजाती र वर्गका श्रद्धालुको अटुट आस्था घटाल बाबासंग जोडिएको छ। खडेरी पर्दा होस या अन्य कुनैपनि प्राकृतिक बिपदका समयमा घटाल बाबालाई गुहारेपछि सवैकुरा ठिक हुन्छ भन्ने अटल मान्यता यस क्षेत्रमा रहेको छ।
घटालका धामी पनि प्रख्यात छन्। धामी कामेका समय क्वीन्टल भन्दा बढी वालुवा खाएको देख्ने हजारौं ब्यक्ति छन्। आजपनि घटालका धामीले कामेर दिएको भाव पुरा हुन्छ। भनिन्छ,–कलियुगको ५ हजार बर्ष पुगेपछि सवै ग्राम्य देवता मुक्त हुनेछन।’ तर घटाल बाबामा कलियुगमा सवैभन्दा वढी शक्ति हुनेछ भनेर स्वयम नारायण बिष्णु भगवानको वरदान रहेको छ।


