आर्थिक वर्ष २०८०/८१ मा मात्रै १७९ चौपायामा रेबिज संक्रमण भएको पुष्टि भएको छ। गत वर्ष १८५ नमुना परीक्षण गरिएको थियो। गत वर्ष कैलालीमा ८२ नमुना परीक्षण गरिएकोमा ७७ मा रेबिज पुष्टि भएको छ भने कञ्चनपुरमा ६८ नमुना परीक्षण गर्दा ६३ चौपायामा रेबिज पुष्टि भएको हो।सुदूरपश्चिम प्रदेशमा चौपायामा रेबिज संक्रमण दर बढ्दै गएको छ।सुदूरपश्चिममा तीन वर्षयता रेबिज संक्रमणको दर बढ्दै गएको पाइएको हो।
२०७८ मा ४ पशूचौपायामा रेबिज संक्रमण पुष्टि भएकोमा २०७९ मा संक्रमण दर बढेर ३९ पुगेको छ। त्यस्तै, २०८० मा १७९ चौपायामा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको तथ्यांकले देखाएको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा रेबिज आउटब्रेकको दर बढी देखिएको छ। कैलालीमा ८२ नमुना परीक्षण गर्दा ७७ तथा कञ्चनपुरमा ६८ नमुना परीक्षण गर्दा ६३ मा रेबिज भएको पुष्टि भएको छ। कैलाली र कञ्चनपुरमा कुकुरमा सबैभन्दा बढी संक्रमण भेटिएको छ। गत वर्ष ७० वटा कुकुरमा रेबिज पुष्टि हुँदा ३१ वटा गाई/गोरु, २३ वटा बाख्रा, २१ वटा भैंसी, बिरालो र स्याल समान २/२ वटा र एक बदेलमा रेबिज पुष्टि भएको छ।
छाडा कुकुरबाट रेबिज संक्रमण अन्य पशुमा फैलिने गरेको पशुचिकित्सकले बताएका छन्। छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको खोप समेत दिने गरिएको छ। गत वर्ष मात्रै संघीय सरकार मार्फत सुदूरपश्चिममा २५ हजार डोज रेबिज विरुद्धक खोप वितरण गरिएको पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ।
गत वर्ष सुदूरपश्चिममा रेबिजको जस्तो लक्षण भएर मरेका १८५ चौपायाको मस्तिष्क नमुना परीक्षण गर्दा १७९ मा रेबिज पुष्टि भएको हो। शरद ऋतुमा सबैभन्दा बढी ५४ चौपायामा रेबिज भएको पुष्टि भएको छ भने वसन्त ऋतुमा ५३, हिउँद ऋतुमा ४९ र वर्षा ऋतुमा २३ चौपायामा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको तथ्यांकले देखाएको हो।


