बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई नातिनी बेपत्ता भएका छन्।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्धार गरिएको छ भने चार जना बेपत्ता भएको स्थानीय भरत महराले बताए।
बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामीको उद्धार भएको र उनीहरु सकुशल रहेका स्थानीयले जनाएका छन्। काली धामी, गोल्की धामी, आशिका धामी, लक्ष्मी धामी भने भेटिएका छैनन्। उनीहरुको उद्धार भैरहेको स्थानीयले बताए ।उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली त्यसतर्फ खटिएको छ । स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको छ ।
सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन ।


