इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति

प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । र, घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।

छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो । उनीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको ललितपुर प्रहरीका एक उच्च अधिकृतले पनि बताए  ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति बनाएको थियो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन बुझाएको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको  बताइन् ।

‘हेडक्वार्टरबाट समेत समिति बनेको थियो, ललितपुरमा पनि समिति बनेको थियो, त्यसको आधारमा अनुसन्धान भइरहेको छ’, उनले  भनिन् ।

ललितपुर प्रहरीका अधिकृतहरुका अनुसार, उनले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको अरोप छ । प्रहरीका अनुसार, शाही नेतृत्वको प्रहरी टोलीले ७ असोजमा एक जना व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्‍याएको कसुरमा पक्राउ गरेको थियो । पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप छ ।यो मामलामा टिप्पणी गरेको विषयलाई लिएर शाहीले स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध विद्युतीय् अपराधको कसुर गरेको आरोपमा उजुरी दिएकी थिइन् र दुवै जना पक्राउ परेका थिए ।

उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । प्रकरणमा मुछिएका थप केही व्यक्ति समेत फरार रहेको बताइएको छ । शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत् रहँदा समेत विवादमा मुछिएकी थिइन् ।

२०८० सालको माघ महिनामा एक जना प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताएका थिए । शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत् थिइन् ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...