‘हर घडी नगर प्रहरी’ अभियानसहित धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले खोज उद्धारदेखि शव चिस्यान सेवासम्मको काम गर्दै आएको छ। नगर प्रहरीले अहिलेसम्म धनगढी र छिमेकी पालिका गोदावरीबाट समेत गरेर एक हजार तीन सय ९४ सर्पको उद्दार गरेको छ। स्थानीयको घरभित्र पसेको सर्पलाई नगर प्रहरी बलले तत्काल उद्दार गर्ने काम गर्दै आएको छ।सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कार्यरत नगर प्रहरी बलको भुमिका प्रभावकारी बन्दै गएको छ।
दैबी प्रकोपदेखि नगरक्षेत्रमा अलपत्र परेका तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लिने/ल्याउने कोही नभए रातअर्दरात जतिबेला पनि धनगढी नगर प्रहरी नागरिकको सेवामा खटिने गरेको छ। यी सबै सेवा धनगढी नगर प्रहरी बलले निःशुल्क रुपमा गर्दै आएको छ। यसका लागि धनगढी नगर प्रहरी बलको टोल फ्री नम्बर र सःशुल्क फोन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
शुक्रबार मात्रै धनगढी उपमहानगरपालिका–३ मा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक अस्पताल राजपुरबाट नगरप्रहरीले कोब्रा प्रजातीको सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडेको छ। यस्तै विहिबार छिमेकी पालिका गोदावरी नगरपालिका–१ स्थित सीता हमालको घरबाट समेत सर्प समातेर उद्दार गरेको थियो।


