युवती वेपत्ता प्रकरणले प्रहरी चौकी नै स्थानान्त्रण

बैतडी– बैतडीको पञ्चेश्वर गाउंपालिका वडा नम्बर २ डिम्बरघाटस्थित महाकाली प्रहरी चौकि सारिएको छ ।

सो चौकिका तत्कालीन प्रहरी हवल्दार कृष्णराज जोशी डिम्बर घाटकि १७ वर्षीया किशोरी वेपत्ता प्रकरण मुछिएपछि प्रहरी चौकि सारिएको हो ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरीचौकीलाई कुलाउ प्रहरीचौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार महाकाली प्रहरीचौकीलाई कुलाउमा सारिएको हो ।

महाकाली प्रहरी चौकीको भाडामा लिएको घर जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको, बस्तीबाट अपायक ठाउँमा रहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि प्रहरीचौकी सारिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

वेपत्ता किशोरी फेला पर्न नसकेको र डिम्बर बस्ति प्रहरीबाटै असुरक्षित बनेको भन्दै स्थानीय आक्रोशित भएका थिए । डिम्बर घाटका स्थानीय र जनप्रतिनिधिले प्रहरी चौकि सार्न माग समेत गरेका थिए ।

महाकाली क्षेत्रमा कुलाउबाटै प्रहरीको टोली गस्तीमा जाने गरेको छ । महाकाली नदीस्थित डिम्बर घाटबाट अवैध सामान आयत हुनसक्ने भएकाले गस्ती भने नियमित हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

किशोरी र प्रहरी हवलदारबीचको सम्बन्धका बारेमा परिवार र आफन्तलाई थाहा भएको बिषयमा किशोरीले प्रहरी हवलदार जोशीलाई जानकारी दिएकी थिइन् ।

असोज २५ गते बिहान आफूलाई समस्या परेको भन्दै उनी प्रहरी हवलदारलाई भेट्न पुगेकी थिइन् । त्यसपछि उनी पानी ल्याउन जान्छु भन्दै त्यँहीबाट बेपत्ता भएकी थिइन् । उनको अवस्था अहिले पनि अज्ञात रहेको छ ।

सम्भावित सबै स्थानमा खोजी गरिएको भएपनि किशोरीको अवस्था थाहा हुन नसकेको प्रहरी निरीक्षक ढुंगानाले बताए । अहिले पनि खोजी कार्य जारी रहेको र पक्राउ परेका जोशीमाथि अनुसन्धान कार्य पनि जारी रहेको उनले बताए ।

गएको असोज २५ गते डिम्बरकी किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवलदार कृष्णराज जोशी तानिएपछि स्थानीयहरुले समेत प्रहरीचौकी सार्नुपर्ने माग गरेका थिए । जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरीचौकी सानुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

किशोरी बेपत्ता भएपछि हवलदार जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यहाँ कार्यरत अन्य प्रहरी जवानहरुलाई समेत जिल्ला तानेर अन्यत्र खटाएको छ ।

महाकाली क्षेत्रका लागि अहिले ९ जनाको नयाँ टोली खटाएको र उक्त टोली कुलाउमै बस्ने गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

बेपत्ता भएकी किशोरीसंग प्रहरी हवलदार जोशीको सम्पर्क रहेकाले उनले नै किशोरीलाई बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन् । उनीमाथि प्रहरीले मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतबाट दोश्रो पटक म्याद थपेर जोशीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

जोशीमाथि मुद्दा लागेसंगै उनलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका जोशीले आफ्नो बयानमा किशोरीसंग सम्बन्ध रहेको कुरा स्वीकार गरेका भएपनि बेपत्ता भएको बिषयमा भने आफू अञ्जान रहेको बताउँदै आएका छन् ।

‘जोशीले किशोरीसंगको सम्बन्धको बारेमा स्वीकार गरेका छन् । असोज २५ गते बिहानसम्म भेटघाट भएको कुरा पनि स्वीकारेका छन् । तर त्यसपछि किशोरी कहाँ गइन् भन्ने कुरा आफूलाई थाहा नभएको भनिरहेका छन् ।’प्रहरी निरीक्षक ढुंगानाले भने, ‘किशोरीसंग पहिलादेखिको सम्बन्ध स्वीकार गरेपनि पछि कसरी बेपत्ता भइन् भन्ने बिषयमा जोशीले केही बोलेका छैनन् ।’

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...