अछामको तुर्माखाँद गाउँपालिकाले ‘राइनचिन’ नामक स्थानीय पाठ्यक्रम लागू गरेको छ । आधारभूत तहका कक्षा एकदेखि आठसम्ममा राइनचिन पढाउन सुरु गरिएको हो । यहाँका आठ वडाका ५२ वटै सामुदायिक विद्यालयमा आइतबारदेखि नै शिक्षकहरूले करिकुलमका आधारमा पठनपाठन सुरु गरेको गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताए । उनका अनुसार पाठ्यक्रम मस्यौदा निर्माण समितिले अन्तिम रूप दिएपछि सरोकारवालाहरूबीच सार्वजनिक गरेर राइनचिन विद्यालयमा पठाइएको छ ।
तुर्माखाद गाउपालिका अछामको सन्देश

तुर्माखाँदले आफ्नो पाठ्यक्रममा गाउँपालिकाभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र, जडीबुटी, पर्यटकीय स्थल, चाडपर्व, स्थानीय पेसा, व्यवसाय र प्रविधि, सामाजिक मूल्यमान्यता र कुरीतिहरू आदि विषयवस्तुहरू समावेश गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीमबहादुर चलाउनेले बताए ।
पाठ्यक्रम लागू गरिएपश्चात् अब पाठ्यपुस्तक निर्माणको तयारी थालिनेछ । त्यसका लागि यही आर्थिक वर्षमा बजेट विनियोजन गरेर आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने अध्यक्ष बिसीको भनाइ छ । उनका अनुसार सबै कक्षालाई एकैपटक नसके पनि क्रमशः सबै कक्षाहरूलाई पाठ्यपुस्तक वितरण गरिने लक्ष्य छ । यसपछिको पहिलो शैक्षिक सत्रमा कक्षा एकलाई पुस्तक वितरण गर्ने योजना रहेको अध्यक्ष बिसीले बताए ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने लक्ष्यका साथ लागू गरिएको स्थानीय पाठ्यक्रम राइनचिनको एक एकाइमा म, हामी र हाम्रो गाउँपालिका, दुईमा स्थानीय जातजाति, भाषा, वेशभूषा, चाडपर्व कला र संस्कृति, तीनमा स्थानीय पेसा व्यवसाय र प्रविधि, चारमा धार्मिक तथा पर्यटकीय स्थल र ऐतिहासिक व्यक्तित्वहरू, पाँचमा स्वास्थ्य सरसफाइ तथा खेलकुद, ६ मा सामाजिक मूल्य–मान्यता र कुरीतिहरू, सातमा प्रकोप वातावरण तथा विपद् र वातावरणीय संरक्षण, आठमा कृषि, नौमा सहकारी, १० मा स्थानीय पूर्वाधारहरू र एकाइ ११ मा प्राकृतिक स्रोतहरूबारे विषय सूची रहेका छन् ।
सामुदायिकमा पढाउने अभियानले गति लियो
यो गाउँपालिकामा सार्वजनिक पद धारण गरेकाका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम छ । गएको पुस १२ गतेको कार्यपालिका बैठकले नीति नै पास गरेर यस्तो निर्णय गरेको थियो । जसको प्रभाव अहिले समुदायस्तरमै परेको छ
जिल्ला अस्पताल बाजुराको सन्देश

निर्णयपश्चातको पहिलो शैक्षिक सत्रमै अध्यक्ष डम्बर बिसी र उपाध्यक्ष विमला शाहीसहित ७० प्रतिशतभन्दा बढी सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना भएका छन् । यो नियम लागू भएपछि पढाइकै लागि जिल्लाबाहिरका सुविधासम्पन्न सहरमा पुगेका विद्यार्थी पनि गाउँकै विद्यालय फर्किएका छन् ।
तर, केही जनप्रतिनिधि र कर्मचारीहरूले नै विभिन्न समस्या देखाउँदै आफ्ना बालबालिका फर्काउन नमानेको भन्दै उनीहरूको आलोचना भइरहेको छ । गाउँपालिकाकै तथ्यांकअनुसार अहिले पनि दुईजना कार्यपालिका सदस्य, ६ जना गाउँ सभाका सदस्य, १० जना कर्मचारी, ७८ जना शिक्षक, ४१ जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र १९ जना शिक्षक–अभिभावक संघका पदाधिकारीले आफ्ना छोराछोरीहरूलाई जिल्लाबाहिरका सुविधासम्पन्न सहरमा पढाइरहेका छन् ।
स्वास्थ्य कार्यालय बाजुराको सन्देश
बिरामी भएर नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने वा अन्य कुनै विशेष खाले समस्या भएकाबाहेक अन्य सबैलाई यही असार १५ अघि गाउँपालिकाका सामुदायिक विद्यालयमा फर्काउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष बिसीले बताए । यदि स्थानीय सरकारको निर्णयप्रति अटेरी गरे तलब सुविधालगायत सबै सरकारी सुविधामा रोक लगाइने अध्यक्ष बिसीको भनाइ छ ।
सामुदायिक विद्यालयप्रति घट्दो जनविश्वास बढाएर तुर्माखाँद गाउँपालिकालाई देशकै नमुना शैक्षिक हब बनाउने लक्ष्यसहित यस्तो महत्त्वाकांक्षी योजना ल्याएपछि सबैका सन्तानले समान शिक्षा पाउने र सामुदायिक विद्यालयको समेत गुणस्तर बढ्ने विश्वासका साथ जनप्रतिनिधि, नेता, शिक्षक, कर्मचारीलगायत सार्वजनिक पदधारण गरेकाहरूले आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा फर्काएर पढाउन थालेको कालिकेश्वरी मावि तुर्माखाँदका प्रधानाध्यापक मनिराम बुढाले बताए ।


