तपाईंलाई म पास्टर भनेर स्वीकार गर्न, तपाईंको चरित्रमा केही विशेष गुणहरू देख्नुपर्छ। ती मध्ये एक महत्वपूर्ण कुरा हो—तपाईं येशूलाई प्रतिबिम्बित (mirror) गर्नुहुन्छ कि हुँदैन। तपाईंको उपलब्धिहरू, तपाईंको अनुयायीहरू, तपाईंको प्रभाव र समुदायमा तपाईंको पहिचान मात्र पास्टरको योग्यताको आधार हुन सक्दैन।
सुनौँ! अब आत्मिक कानले ध्यान दिएर सुन्नुहोस्। जब एक साँचो, खरा र अभिषिक्त पास्टरले कसैलाई “पास्टर” भनी सम्बोधन गर्छ, तब त्यो नाम स्वतः मान्यता प्राप्त हुन्छ। तपाईंले कसैलाई पास्टर भनेर चिनेपछि, अरूले पनि त्यसैलाई पास्टर मान्छन्। तपाईंको घोषणाले समाजमा प्रभाव पार्छ।
तर यहाँ चुनौती छ—यदि तपाईंले कसैलाई पास्टर भनेर चिन्नुहुन्छ र पछि उसले येशूको प्रतिबिम्ब देखाउने जीवन जिउँदैन भने, त्यस व्यक्तिको चरित्रले तपाईंको आफ्नै पहिचानलाई प्रश्नको घेरामा पार्छ।
“जति कम हामी येशूलाई प्रतिबिम्बित गर्छौं, त्यति नै धेरै हामी अरूलाई प्रतिबिम्बित गर्न थाल्छौं।”
एफिसी ५:१ ले हामीलाई येशूको चरित्र अनुसार बाँच्न सिकाउँछ। हामीले आफ्नै जीवनमा उहाँको छवि प्रतिबिम्बित गर्नुपर्छ, ताकि अरू मानिसहरूले पनि हाम्रो जीवनबाट येशूलाई देख्न सकून्। विशेष गरी, पास्टरहरू हरेक विश्राम दिन मण्डलीमा उपदेश दिन्छन्, उनीहरूले गम्भीरताका साथ विचार गर्नुपर्छ।
आज संसारभरि जसो कोही पनि आफूलाई “पास्टर” भन्न चाहन्छ। दुर्भाग्यवश, हामी आफैंले त्यस्ता मानिसहरूलाई मान्यता दिइरहेका छौँ। कति ठूलो अज्ञानता ख्रीष्टको शरीर (चर्च) भित्र फैलिएको छ!


