भारतमा नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । केही वर्षयता नेपाली पासपोर्ट वा नागरिकतामा सिम कार्डको वितरण रोकिएको थियो ।
सिम कार्ड नपाउँदा भारत आउने नेपाली नागरिकले सञ्चार सम्पर्कबाटै टाडा रहनुपर्ने स्थिति थियो । भारतको टेलिकम्युनिकेसन विभागले सोमबार गरेको निर्णयअनुसार नेपाली नागरिकले पासपोर्ट वा त्यसको विकल्पमा नागरिकता, मतदाता परिचय पत्र वा दिल्लीस्थित नेपाली दूवातासले फोटोसहित प्रमाणित गरेको पत्रका आधारमा सिम कार्ड पाउनेछन् ।
सञ्चार मन्त्रालय मातहतको उक्त विभागले टेलकम अथोरिटीहरुलाई नेपाली र भुटानी नागरिकको हकमा उक्त कागजातालाई ‘केवाइसी’ डुकुमेन्टका रुपमा हेर्न भनेको छ ।पछिल्लो समय सिम कार्ड नपाउने विषय मुद्दाको रुपमा उठ्न थालेको थियो । हरेक जसो सरकारी भ्रमण र डेलिगेसनमा नेपाली पक्षले भारतमा नेपाली नागरिकले सिम कार्ड नपाएको औपचारिक/अनौपचारिक ढंगले भातीय पक्षसँग उठाउँदै आएका थिए । दिल्लीस्थित नेपाली दूतावासले करिब दुई महिना अगाडि भारतको विदेश मन्त्रालयलाई औपचारिक पत्राचार गरेरै भारत आएका नेपाली नागरिकले सिम कार्ड नपाउने गरेको बारे जानकारी गराउँदै त्यसको समस्या समधानका लागि आग्रह गरेको थियो ।


