पहाडको बीचमा रहेको शान्त गाउँमा क्रिसमसको समय परिवारहरू एकसाथ भेला भएर खाना बाँड्ने, क्यारोल गाउने र आनन्द मनाउने बेला हुन्थ्यो। तर यसपालि गाउँलेहरू कठिनाइमा थिए: बाली असफल भएको थियो, र विद्यालयलाई खुला राख्न चुनौती भइरहेको थियो। यसै गाउँमा बस्ने एक सादा र विनम्र परिवार थियो – जोएल, उनकी श्रीमती रोशनी, र तिनका दुई प्यारा छोराछोरी, मर्सी र उज्ज्वल। शिक्षकको भूमिकामा रहेका जोएलले आफ्ना छोराछोरीलाई सधैं क्रिसमसको गहिरो अर्थ सिकाउँदै, यो आशा, शान्ति र परमेश्वरको प्रेमको सन्देश भएको सम्झाउँथे।
क्रिसमसको पूर्वसन्ध्या नजिकिँदै गर्दा मर्सीले आफ्ना बाबुलाई सोधन, “हामी किन क्रिसमस मनाउँछौं, खास गरी जब जीवन यति कठिन हुन्छ?” जोएल मुस्कुराए, र सारा परिवारलाई सँगै भेला गरी एउटा कथा सुनाउन थाले – एक यस्तो कथा, जसले विगतका पुराना सम्झना मात्र होइन, भविष्यप्रतिको ताजगीपूर्ण आशा पनि दिन्थ्यो।
“क्रिसमस भनेको परमेश्वरको हामीप्रतिको प्रेमको उत्सव हो,” जोएलले सुरु गरे। “जसरी हामी जन्मदिन मनाउँछौं, क्रिसमस येशूको जन्मदिन हो, जसलाई परमेश्वरले हामीलाई बचाउन पठाउनु भयो।” जोएलले बाइबल खोल्दै यशैया ९:६ बाट पढे, “किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ।” उनले आफ्ना छोराछोरीलाई बुझाउँदै भने, “यसैगरी पहिलो क्रिसमसमा परमेश्वरले हामीलाई उपहारस्वरूप आफ्नो पुत्र दिनुभयो। यो उहाँको अपार प्रेमको चिन्ह हो।”
मर्सी र उज्ज्वलले चनाखो भएर बाबुको कुरा सुनिरहे। “येशूले शान्ति र आशा दिन आउनुभयो,” जोएलले भने, “जसरी अहिले हाम्रो गाउँलाई आशा र शान्ति चाहिन्छ, त्यस्तैगरी त्यो समयमा संसारलाई पनि चाहिएको थियो।” उनले लूका २:१४ उद्धृत गर्दै भने, “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” उनले व्याख्या गरे कि कठिन समयमा हामी पनि यही शान्तिमा भरोसा गर्न सक्छौं।
जोएलले येशू मुक्तिदाताका रूपमा कसरी संसारमा आउनुभयो भनेर बुझाए। “उहाँ सबै गुमाएकाहरूलाई खोज्न र उद्धार गर्न आउनुभएको हो,” उनले भने। उनले लूका १९:१० पढे, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” उनले आफ्ना छोराछोरीलाई सम्झाउँदै भने कि येशू सधैं हाम्रो नजिक हुनुहुन्छ, हामीलाई उहाँतर्फ फिर्ता ल्याउनको लागि।
शान्त भएर सुनिरहेकी रोशनीले बिस्तारै भनिन्, “परमेश्वरको हामीप्रतिको माया यति अपार छ कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो।” उनले यूहन्ना ३:१६ बाट उद्धृत गर्दै थपिन्, “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो।” उनले आफ्ना छोराछोरीलाई प्रोत्साहित गर्दै भनिन्, “परमेश्वरको यो माया नै सबैभन्दा ठूलो उपहार हो।”
जोएलले तिनीहरूलाई येशूको नम्र सुरुवातको सम्झना गराउँदै भने, “येशू राजाहरूका राजा हुनुहुन्थ्यो, तर उहाँ गरीब र नम्र बच्चाका रूपमा आउन रोज्नुभयो।” उनले फिलिप्पी २:८ बाट उद्धृत गर्दै भने, “स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो।” यसले तिनीहरूलाई नम्रताको महत्त्व सिकायो र अरूहरूप्रति दया देखाउन प्रेरित गर्यो।
बोल्दा बोल्दै जोएलले छोराछोरीको आँखामा आशाको चमक देखे। उनले भने, “स्वर्गदूतले येशूको जन्मलाई ‘ठूलो आनन्दको सुसमाचार’ भनेर घोषणा गर्नुभयो (लूका २:१०)।” यसले तिनीहरूलाई सम्झायो कि क्रिसमस सबैको लागि आनन्द र आशाको समय हो।
जोएलले येशूले सिकाउनुभएको प्रेम र एकताको महत्त्व वर्णन गरे। “हामीलाई पनि उहाँले भनेको जस्तो एक अर्कालाई प्रेम गर्नु पर्छ (यूहन्ना १५:१२)।” परिवारले क्रिसमसको अवसरमा कसरी छिमेकीलाई सहयोग गर्न सकिन्छ भन्नेबारे विचार गर्न थाले।
“क्रिसमस भनेको अरूलाई दिने र सेवा गर्ने अवसर पनि हो,” जोएलले भने। उनले मर्सी र उज्ज्वललाई येशूले अरूको सेवा गर्ने उदाहरण सम्झाउँदै भने, “मानिसको पुत्र सेवा गर्न आएको हो” (मत्ती २०:२८) । जोएल र रोशनीले छिमेकीलाई मद्दत गर्ने योजना बनाए।
जोएलले छोराछोरीलाई सम्झाए कि क्रिसमस नयाँ सुरुवातको समय हो। “येशूले भन्नु भयो, ‘म संसारको ज्योति हुँ’ (यूहन्ना ८:१२)। क्रिसमसले हाम्रो जीवनमा उज्यालो ल्याउँछ।” त्यस रात, परिवारले आफ्नो झ्यालमा एउटा सानो मैनबत्ती बालेर आशाको चिन्ह बनायो।
अन्त्यमा, जोएलले आफ्नो परिवारलाई येशूलाई हृदयमा स्वागत गर्न प्रोत्साहन गरे। उनले बाइबलबाट प्रकाश ३:२० पढे, “हेर, म ढोकामा उभिएर ढकढक गर्छु।” जब हामी येशूलाई हाम्रो जीवनमा निम्तो दिन्छौं, उहाँ शान्ति, आनन्द र मुक्ति ल्याउनुहुन्छ।

क्रिसमसको बिहान उठ्दा, गाउँमा सुन्दर हिमपातको परेको थियो। गाउँलेहरू हाँसो र खुशी साट्न भेला भए, र जोएलको परिवारले क्रिसमस सन्देश सबैसँग बाढे । मर्सीले आफ्नो बुबालाई हेरेर मुस्कुराउँदै भनिन्, “अब मैले बुझें, क्रिसमस भनेको येशूको बारेमा हो, र उहाँ नै सबैभन्दा उत्कृष्ट उपहार हुनुहुन्छ।” जोएलले आफ्नी छोरीलाई अँगालो हाल्दै भने, “यो नै क्रिसमसको चमत्कार हो, जसले हामी सबैलाई छोयो।”
क्रिसमस हामीलाई परमेश्वरको प्रेम, शान्ति र आशाको सम्झना दिलाउँछ। यस मौसममा हामी सबैले येशूलाई हाम्रो हृदयमा स्वागत गरौं र अरूसँग प्रेम र दया बाँडौं। सबैलाई क्रिसमसको शुभकामना!



