
प्रियहरु,
म येशूको जीवन र उहाँले पृथ्वीमा गर्नुभएको कामप्रति अचम्मित छु। यदि हामी आजको अगुवाहरूसँग येशूलाई तुलना गर्ने हो भने, के हामी उहाँसँग मेल खान सक्छौं? मैले येशूलाई देख्छु कि उहाँले आफ्ना लागि कृतज्ञता र प्रेम प्रकट नगर्ने मानिसहरूप्रति पनि धैर्य गर्नुभयो। उहाँले तिनलाई माया गर्न छोड्नुभएन र सधैं तिनका लागि राम्रो गर्नु भयो।
केही अगुवाहरू पनि यस्तै व्यवहार गर्छन्, तर अरूले मण्डलीको (चर्चका मानिसहरूको) यस्तै आचरणलाई मन नपराउन सक्छन्। येशूको काम उहाँलाई सताउनेहरूलाई प्रेम गर्न र आफूलाई उपयोग गर्नेहरूका लागि पनि राम्रो गर्न जारी राख्नु थियो।

प्रियहरु , म बुझ्छु तपाईंलाई यो पढ्दा के महसुस भइरहेको छ। तपाईंले आफ्नो स्मृतिहरूमा ती पलहरू सम्झनुहुनेछ, जब तपाईं मण्डलीको लागि सबैथोक गर्नुभएको थियो। कहिलेकाहीँ आफ्नै परिवारलाई बेवास्ता गर्दै, तिनीहरूको आवश्यकता पूरा गर्न तपाईं लागिपर्नुभएको थियो। तपाईंले आफ्नो अगुवाको भूमिका बाहिर गएर तिनीहरूको जीवन सहज बनाउन सरकारी मामिलासम्म पनि ध्यान दिनुभयो।
तर आज, ती मानिसहरूले तपाईंलाई छोडिदिएका छन्, तपाईंको बिरुद्ध गलत हल्ला फैलाएका छन् र झगडा गरेका छन्। तपाईंलाई सबै प्रमाण छ, तर के हामी तिनीहरूलाई अझै माया गर्न सक्छौं र तिनका लागि राम्रो गर्न सक्छौं?

अगुवाहरु सत्य कुरा यो हो:
प्रत्येक मानिसले तपाईंलाई चोट पुर्याउनेछ। तर तपाईंले त्यो पीडा सहन लायक मानिसहरू फेला पार्नुपर्छ।
लूका ६:२८ भन्छ, “तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देऊ र तिमीहरूलाई सताउनेहरूका लागि प्रार्थना गर।” मण्डलीको सेवा र माया कुनै स्थिर अवस्थाको कुरा होइन। यो विभिन्न प्रतिक्रियाहरूको मिश्रण हो। दुई मन र आत्माहरूको भेट हुँदा फरक प्रतिक्रियाहरू आउँछन्। जसले तपाईंको नि:शुल्क सेवालाई बुझ्छ, उनीहरूले अन्ततः कृतज्ञता, आदर, सम्मान र प्रेम देखाउनेछन्।

तर यहाँ सत्य यो पनि हो कि, जसरी म यो सन्देश. अगुवाहरुलाई लेख्दैछु, त्यस्तै धेरैले यस प्लेटफर्मबाट नि:शुल्क सिकेर पनि सम्मान गर्न असफल हुन्छन्।
हामी येशू जस्तै हुनुपर्छ, जसले आफ्नो परमेश्वर-प्रदत्त जिम्मेवारीमा निरन्तरता दिनुभयो। त्यसैले उहाँ परमेश्वरको दाहिने हातमा बस्न योग्य हुनुभयो। जसलाई तपाईंले सहन लायक ठान्नुहुन्छ, तिनीहरू सानो बाटोमा पाइनेछन्। तर जो त्यसका लायक छैनन्, तिनीहरू फराकिलो बाटोमा हुनेछन्। यी दुई समूहको पहिचान गर्दा तपाईंले शान्ति पाउनुहुनेछ।
डा. हरि प्रसाद रेग्मी

