
प्रिय परमेश्वरका जनहरू,
हाम्रो पाठ हितोपदेश १०:९ ले “इमानदारीको जीवन” को बारेमा चेतना दिन्छ। विशेष गरी पास्टर र अगुवालाई यो पाठले सावधानीपूर्वक जीवनयापन गर्न प्रेरित गर्छ।
नेतृत्वमा हुनेबित्तिकै, तपाईंको जीवन र व्यवहार माथि मानिसहरूले ठूलो ध्यान दिने गर्छन्। उनीहरूले तपाईंको प्रचार मात्र हेर्ने होइन, तपाईंको व्यक्तिगत जीवन र परिवारलाई पनि जाँच्ने गर्छन्। प्रश्न उठ्छ—“तपाईंले प्रचार गर्ने सत्य तपाईंको जीवनमा लागू छ कि छैन?”
धेरैजसो मानिसहरूले तपाईंको जीवनलाई अनुसन्धान गर्न चासो राख्छन् तर आफैंलाई परमेश्वरको वचनद्वारा सुधार्ने प्रयास गर्दैनन्।
बाइबलमा चार सुसमाचार छन्—मत्ती, मर्कुस, लूका, र युहन्ना। तर मानिसहरू धेरैजसो यी सुसमाचारहरू पढ्दैनन्; उनीहरू तपाईंलाई हेर्छन्। तपाईंको जीवन नै उनीहरूको लागि सुसमाचार हो।
जब मानिसहरूले तपाईंको कमजोरी देख्छन्, उनीहरूले गफगाफ र सामाजिक सञ्जालमार्फत त्यो कमजोरी संसारभर फैलाउँछन्। तर परमेश्वरको आत्मा तपाईंलाई सच्चाईमा फर्काउन काम गर्नुहुन्छ।
त्यसैले, पास्टर र अगुवाहरू, हामीलाई इमानदारी र सत्यता कायम राख्न आवश्यक छ। हामीले परमेश्वर, येशू, र पवित्र आत्मालाई आदर दिनुपर्छ। केवल त्यो काम गर्नुहोस् जुन परमेश्वरले तपाईंलाई गर्न बोलाउनु भएको छ।

इमानदारी अभ्यास गर्नाले तपाईंलाई विश्वासिलो सेवक बनाउँछ। मानिसहरूले तपाईंको जीवनलाई जाँच्न सक्दछन्, तर यदि तपाईं इमानदार हुनुहुन्छ भने, तपाईंको विरुद्ध कुनै दोष भेट्टाउन सक्दैनन्।
यसकारण, हाम्रो जीवनले मानिसहरूलाई बाइबलका सुसमाचारहरू पढ्न प्रेरणा दिने बनाउनुपर्छ, नकि हामीलाई मात्रै हेर्न।
आउनुहोस्, इमानदारीको जीवन बिताऔं र परमेश्वरलाई महिमा दिऔं।

