बझाङ — जिल्ला अस्पताल बझाङमा गर्भवतीको मृत्यु भएको छ । केदारस्यूँ गाउँपालिका–६, सिङराल्लीगाउँकी ३५ वर्षीया गौबडीदेवी धामीको सुत्केरी हुन नसक्दा उपचारका क्रममा ज्यान गएको हो ।
शनिबार बिहानै सुत्केरी व्यथाले च्यापेकी धामीलाई दिउँसो १० बजेमात्रै स्वास्थ्य संस्थामा पुर्याइएको थियो । पालिकाकै देउरा बजारमा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा गर्भवतीको अवस्था गम्भीर भइसकेको र जाँच गर्दा रगतमा हेमोग्लोबिनको मात्रा कम भएर (९.४) देखिएपछि जिल्ला अस्पताल बझाङमा रेफर गरिएको थियो ।
शनिबार साँझ बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्योएकी उनको हेमोग्लोबिनको स्तर घटेर ४.८ पुगिसकेको र मुटुको चालसमेत सुस्त भइसकेको थियो । जिल्ला अस्पतालमा उपचार नहुने भएपछि सुविधायुक्त अस्पताल पठाउने तयारीमा हेलिकप्टर व्यवस्था गरिए पनि केही घण्टामै धामीको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
‘बिहानै व्यथा लागे पनि दिदी आफैंले अस्पताल लानु पर्दैन भन्नुभएको रहेछ,’ मृतककी बहिनी भागिरथी बोहराले भनिन्, ‘१० बजेतिर गाह्रो हुन थालेपछि मात्रै घरका मान्छेले अस्पताल लगे तर बचाउन सकिएन ।’
जिल्ला अस्पतालका चिकित्सकहरुले आन्तरिक रक्तश्रावका कारण धामीको मृत्यु भएको हुन सक्ने बताए । ‘बाहिर रगत नदेखिए पनि एक्कासी हेमोग्लोबिनको मात्रा घट्नुले आन्तरिक रक्तश्राव भएको हो कि भन्ने हाम्रो अनुमान छ,’ जिल्ला अस्पतालका प्रमुख डा. इन्द्र शाहले भने, ‘हामीले धेरै कोसिस गर्दा पनि बचाउन सकेनौं ।’


